आइफोनका लागि मानिसहरुले हद नै पार गरेको घटना विभिन्न काल खण्डमा सार्वजनिक भइरहेका छन् । तर, अहिले जुन घटनाबारे हामी कुरा गर्दैछौं त्यसले पनि सीमा नाघेको छ ।
युक्रेनको एक स्थानीय खुद्रा व्यापारीले एप्पलका फ्यानहरुलाई आइफोन सेभेन सित्तैमा जित्ने अवसर दिएको छ । यसको लागि तपाईंले आफ्नो नाम ‘आइफोन सेभेन’ भनी राख्नुपर्छ ।
युक्रेनको सबैभन्दा ठूलो मोबाइल फोनको खुद्रा व्यापारी Allo.ua ले एउटा निकै अचम्मको अभियान चलाइरहेको छ । एलो स्टोरले मानिसहरुलाई आधिकारीक रुपमै आफ्नो पहिलो नाम आइफोन र थर सेभेन राखे आइफोन सेभेन सित्तैमा पाइने बताएको छ । यसका लागि सहभागीहरुले पहिला आफ्नो ‘स्टेट रजिष्ट्रि अफ सिभिल स्टेटस एक्ट’ मा गएर आधिकारीक रुपमा आफ्नो नाम परिवर्तन गराउन पाउँ भनी निवेदन लेख्नुपर्ने हुन्छ । उनीहरुको नयाँ परिचयपत्र जारी भएपछि त्यससँगै आफ्नो सेल्फी खिचेर स्टोरको वेबसाइटमा पठाउनुपर्नेछ । यदि उनीहरु नाम परिवर्तन गर्ने पहिलो पाँच व्यक्तिमा परे भने उनीहरुले ३२ जीबिको ‘आइफोन सेभेन’ जित्न सफल हुनेछन् । पहिलो पाँच ती व्यक्तिहरुलाई लाई एलोले आफ्नो स्टोरमा निम्तो दिनेछन्, उनीहरुको परिवर्तित परिचयपत्र हेर्नेछन् र पुरस्कार हस्तान्तरण गर्नेछन् ।
एलोले यसका लागि अनुसन्धान गरेको छ तर युक्रेनमा अहिलेसम्म कसैले पनि आफ्नो नामलाई आइफोन सेभेनमा परिवर्तन गरेका छैनन् ।










































