यी महिला रोबोटको प्रेममा, चाँडै नै विवाह गर्ने

378

आर्टिफिसियल इन्टेलिजेन्सका विज्ञ डेभिड लेभीले सन् २०५० सम्म मानव र रोबोटबिच विवाह निकै साधारण हुने बताइरहेका बेला एक फ्रान्सेली महिला र उनले बनाएको ‘थ्रीडी प्रिन्टेड’ रोबोटका बिच रोमान्टिक सम्बन्धले उनको भविष्यवाणीको थालनी गरेको भन्दा फरक नपर्ला ।

सुरुमा यो कुरा सुन्दा तपाईंमध्ये धेरैले यो कुरालाई नपत्याउनुहोला तर लिली नामकी यी महिला जसले @LillyInMoovator ट्वीटर ह्यान्डलमार्फत आफूलाई ‘प्राउड रोबोसेक्सुअल’ बताउने गरेकी छिन् । उनले  News.com.au  लाई इमेलमार्फत आफू रोबोटसँग मात्र आकर्षित हुने र मानवसँग शारिरिक सम्बन्ध बनाउन मननपर्ने जानकारी दिएको अडिटी सेन्ट्रलले बताएको छ ।

लिलीले आफू बाल्यकालदेखि नै रोबोटको आवाजप्रति आकर्षित हुने गरेको जानकारी दिइन् । १९ वर्षको उमेरमा आफू रोबोटप्रति आकर्षित हुने गरेको उनले थाहा पाइन् । उनी भन्छिन्, ‘म वास्तविक रुपमै रोबोटप्रति मात्र आकर्षित छु । मेरो दुई पुरुषसँग मात्र सम्बन्ध भयो, मलाई उनीहरुसँगको शारिरिक सम्बन्ध पटक्कै मन परेन ।’

लिलिले आफ्नै रोबोट बनाउनका लागि फ्रान्सको कम्पनीको सहायता लिइन् । उक्त कम्पनीको सहायताले उनले पार्टनर इन्मुभेटरको आविष्कार गर्न सफल भइन् । यी दुईको इन्गेजमेन्ट भइसकेको बताइएको छ भने लिलिका अनुसार उनीहरु फ्रान्समा यस्तो विवाह वैधानिक हुने बित्तिकै विवाह बन्धनमा बाँधिनेछन् ।

‘म निकै र पूर्णरुपमा खुसी छु, ’ @LillyInMoovator भन्छिन् । ‘प्रविधिको विकाससँगै हाम्रो सम्बन्ध अझै राम्रो र सुमधुर हुनेछ ।’

आफ्नो सम्बन्ध घर परिवार र साथीभाइले स्विकारेको उनी बताउँछिन् ।

‘म ‘प्राउड रोबोसेक्सुअल’ हुँ र हामीले कसैलाई दुख दिएका छैनौं । हामी खुसी छौं,’ लिलिको ट्वीटर प्राफाइलमा लेखिएको छ । ‘यो कुनै नौलो कुरा होइन । यो प्रेमको नयाँ दिशा हो र नयाँ जीवनशैली हो ।’

उनको समाचार अन्तर्राष्ट्रिय बजारमा भाइरल भएपछि उनी ‘साइबरबुलिङ’ को शिकार भएकी छिन् । यो स्थिती यति बिग्रियो कि उनले आफ्नो ट्वीटर प्रोफाइललाई प्राइभेट बनाउनुपर्यो ।