तपाईंले अहिलेसम्म कत्तिको महँगो नङ पालिस लगाउनुभएको छ ? तपाईंमध्ये धेरैले भन्नुहोला १ हजार, १० हजार वा १ लाख । तर यदि हामीले तपाईंले यत्तिको मूल्यको नङ पालिस त निकै सस्तो हो भन्दा तपाईंलाई अचम्म लाग्यो होला । आज हामी तपाईंलाई यस्तो नङ पालिसबारे जानकारी दिँदै छौं जसको मूल्य लाखौंमा नभई करोडौंमा छ । संसारको सबैभन्दा महँगो पाँच नङ पालिस यस्ता छन्ः
१. एजाचरः
‘एजाचर’ नामक ब्रान्डको नङ पालिस संसारको सबैभन्दा महँगो साबित भएको छ । २५०,००० डलर (२ करोड ६७ लाख रुपैयाँ) पर्ने यो नङ पालिसको मुख्य विशेषता यसमा रहेको २६७ क्यारेटको ‘ब्ल्याक डाइमण्ड’ हो । संसारको सबैभन्दा महँगो साबित भएको यो नङ पालिसलाई अहिलेसम्म २५ जना मानिसले खरिद गरेका छन् । करिब ५ सय ६७ मानिसहरुले यो नङ पालिसका लागि रजिस्टर गरिसकेका छन् । अहिलेसम्म मेगान फक्स, केली क्लार्कसन र लिव टाइटरजस्ता हलिउड नायिकाले यो नङ पालिस किन्न सक्षम भएका छन् ।
२. ‘गोल्ड रस कोचर’
महँगो नङ पालिसको सूचीको दोस्रो नम्बरमा ‘गोल्ड रस कोचर’ पर्दछ । १३०,००० डलर (१ करोड ३९ लाख रुपैयाँ) पर्ने यो नङ पालिसमा सुन र हिरा मिसाइएको छ । पालिसका साथै यसको बट्टा पनि निकै महंगो भएकाले नङ पालिस सिद्धिएपछि पनि यसलाई सजाएर राख्न सकिन्छ ।
३. एले कस्मेटिकको ‘आइ डु’:
एले कस्मेटिकको ‘आइ डू’ नङ पालिसको मूल्य ५५,००० डलर (५८ लाख ८५ हजार रुपैयाँ) पर्दछ । यो नङ पालिस विदेशी बजारमा निकै लोकप्रिय छ ।
४. आइस्ड मेनिक्युरः
आइस्ड मेनिक्युर नङ पालिस पनि संसारको सबैभन्दा महंगो नङ पालिसको सूचीमा पर्दछ । यसको मूल्य ५१,००० डलर (५४ लाख ५७ हजार रुपैयाँ) पर्दछ ।
५. रेड कार्पेटः
रेड कार्पेट नङ पालिसको मूल्य १ हजार डलर (१ लाख रुपैयाँ) हो । महिलाहरुबिच यो नङ पालिस निकै चर्चित छ ।








































