७७ वर्षीय चोर, जो नचोरी बस्नै सक्दैनन्

350

भनिन्छ, पुरानो बानी छोड्न निकै गाह्रो हुन्छ । हो, यस्तै भएको छ, धानीराम मित्तललाई जो ७७ वर्षको उमेरमा पनि नचोरी बस्नै सक्दैनन् ।

पुलिसको रेकर्डमा सुपर नटवरलाल, भारतीय चाल्र्स सोभराज र सुपर चोरको नामले परिचित उनलाई २५ औं पटक गत मंगलबार पक्राउ गरिएको छ । उनलाई पहिलो पटक सन् १९६४ मा पक्राउ गरिएको थियो ।

५२ वर्षे उनको अपराध जीवनमा उनीविरुद्ध १२८ एफआइआर दर्ता गरिए । उनीमाथि नक्कली पुलिस, न्यायाधिश, पुलिस इन्स्पेक्सटर र सरकारी जागिरे बनेको आरोप लागको छ ।

सन् १९६० को अन्त्यतिर उनी कर्मचारीको रुपमा रोहतक कोर्टमा काम गर्दथे । न्यायाधिश बिदामा गएका बेला उनले करिब दुई महिनाभन्दा बढि न्यायाधिशको कुर्सीमा बसेर थुप्रै अपराधीहरुलाई जेलमुक्त गरिदिए ।

कानुन विषयमा स्नातक गरेका र क्यालिग्राफीका विद्यार्थी उनले आफू क्षेत्रीय परिवहन अधिकारी भएको भन्दै कारको नक्कली पेपर बनाउँदै हिँडे । उनले आफ्नो केसको आफैं वकालत गर्दथे ।

उनलाई गत बुधबार प्रहरीले मारुती इस्टिम चलाइरहेको बेला पक्राउ गरेको हो जुन उनले गत जुन महिनामा चोरी गरेका थिए ।

सिसिटीभी फुटेजका अनुसार उनलाई कारभित्र पस्न एक मिनेटभन्दा कम लाग्छ । ‘ती मानिस निकै खप्पिस छन् । मेरो कार मारुती ८०० हो र सिसिटीभीले उनलाई मेरो कार चोरी गरिरहेको कैद गरेको थियो । उनलाई त्यसको लागि एक मिनेट पनि लागेन । एक ७७ वर्षका वृद्धले कसरी यस्तो गर्न सक्छन् भन्ने कुरामा म अचम्ममा छु ।’

उनी बुढा भइसके तर आफ्नो बाटो परिवर्तन गर्न चाहन्नन्, एक अनुसन्धानकर्ताले बताए ।

‘उनका अनुसार उनी नचोरी बस्नै सक्दैनन् । उनले पुराना जस्तै मारुती ८००, ह्युन्डे स्यान्ट्रोसजस्ता कारहरु चोर्ने गर्दछन् जसको अलार्म हुँदैन । फोनमा कुरा गरिरहेको नाटक गर्दै उनले मास्टर साँचोमार्फत कार चोर्छन्, ’ एक अनुसन्धानकर्ताले बताए ।

पुलिसका अनुसार उनले अहिलेसम्म लगभग ५ सय वटा कार चोरिसकेका छन् । मित्तलले आफूले चोरेको कारलाई पश्चिम दिल्लीमा प्रति कार ३० हजारदेखि ५० हजारसम्म बेच्ने गर्दछन् ।

‘उनलाई पैसा चाहिँदैन तर उनले जहिले चोर्छन् । उमेर पाको भएपनि उनले कहिले चोर्न छोडेनन्,’ एक पुलिस अधिकारीले बताए ।

जेलमा बस्ने कर्मचारीलाई पनि उनीबारे थुप्रै कुराको ज्ञान भइसकेको छ । उनी बुढापाकालाई राख्ने जेलमा बस्न रुचाउँदैनन् । आफ्नो नयाँ समूह बनाउनको लागि भए पनि उनलाई वयस्क अपराधीको वरिपरी बस्न मन लाग्ने त्यहाँका कर्मचारी बताउँछन् ।

‘जतिबेला उनी जेलभित्र जान्छन् तब उनले आफ्नो छुट्टै समूह बनाइहाल्छन् । आफ्नो कानुनी सल्लाहले उनले अरु अपराधीको मन सजिलै जित्न सफल पनि हुन्छन् । उनले दिल्ली अदालतमा ती अपराधिको केस पनि लडेका छन्,’ एक पुलिस अधिकारीले बताए ।

जेलको अग्ला पर्खाल बाहिर उनी एक पारिवार भएको मानिस हुन् जो दिल्लीको नरेलामा श्रीमती र बुहारीसँग बस्छन् । जति भने पनि सुध्रिने छाँटकाँट नदेखे पछि उनका दुई छोराहरु आजित भएर उनीसँग छुट्टिएर बस्छन् ।